नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।>
उनले आफ्नो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्यो भनी प्रश्न गरेका छन् ।
>
मंगलबार विहान बसन्तपुरमा नेपाल संवतको नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशिभत्रका सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतको लामो बहस र छलफलपछि टिकटक बन्द गर्ने निर्णयमा पुगेको आशयको अभिव्यक्ति दिएका थिए ।
>
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्यो सहमति ?’
>
महामन्त्री थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री क्लबको बन्द कोठामा भएको बैठकमा हुने सम्झौतालाई दलहरुबीचको सहमति भन्न नमिल्ने बताएका छन् । ‘यो तपाईँहरू बीचको समझदारी हो पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ’ उनले भने ।महामन्त्री थापाले भनेका छन्, ‘पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन ।’
>
टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दा सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्ने प्रश्न उठाएको भन्दै थापाले गलत कदमको विरोध गर्न पाइने जवाफ दिएका छन् । ‘हिजो पनि गलतलाई गलत भनेका हौं, आज पनि र भोली पनि भन्छौं । सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन’ महामन्त्री थापाले भनेका छन् ।
>
बरु सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्तापक्ष भनेर मौन बस्नु चाहिँ गलत हुने उनको कथन छ ।
>
‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं’ उनले भनेका छन् ।
>
>>