प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० अशोज २०८२

प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् । त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् । उनले जेनजीका केही अगुवाहरू लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पूरा नहुने स्पष्ट उल्लेख गरेकी छन् । अब संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् ।

‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गर्दछु,’ उनले भनेकी छन् । सरकार बनेपछि करिब दुई सातासम्म राजनीतिक दलहरूसँग दूरी रहिरहेका बेला प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा दलहरूलाई पनि  चुनावका लागि औपचारिक आह्वान गरिन् । ‘२१ फागुनमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनतक्ति सुरक्षा कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भनिन्, ‘युवा पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन र चुनावलाई सहयोग गर्ने राजनीतिक दलसहित सबैलाई आह्वान गर्छु,’ प्रधानमन्त्री कार्कीले भनिन् । देश बाहिर रहेका नेपालीलाई मतदाता गर्नेबारे पनि छलफल भइरहेको उनले बताइन् । उनले छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । 

उनले नेताका घरमा भेटिएका पैसा लगायतका विषयमा अनुसन्धान भइरहेको पनि जानकारी दिइन् । भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् । ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार