छानबिन समितिले औंल्यायो किटको गम्भीर लापरबाही

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ श्रावण २०८२

भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुईजना नेपाली छात्राको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले जाँचबुझ प्रतिवेदन बुझाएको छ ।

अखबार टाइम्स अफ इन्डियाले नेपाली विद्यार्थीको मृत्युप्रति ‘कलेजले प्रशासन’ लाई जिम्मेवार ठहर्‍याउनुपर्ने भनेको छ । प्रतिवेदनमा कलेजको ‘अवैध र गैरकानुनी गतिविधिले’ नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै त्यस्ता गतिविधि फौजदारी दायित्व अन्तर्गत समेत पर्ने भनेको समाचारमा उल्लेख छ । केआईआईटी (कीट)मा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल ४ फागुन २०८१ मा कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे प्रकृतिले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो ।

घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो । यो प्रकरणमा गम्भीर अनुसन्धानको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेको बेला कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । पछि यो विषयलाई लिएर नेपाल सरकारले समेत कूटनीतिक पहल गर्नुपरेको थियो । कलेज प्रशासनले पछि केही कर्मचारीलाई कारबाही गर्‍यो भने सुरक्षागार्डहरू पनि पक्राउ परेर छुटे । एक भारतीय युवकलाई समेत प्रहरीले पक्राउ गरेको थियो । यौन दुर्व्यवहारका उजुरीहरूलाई बेवास्ता गरिएको, गैरकानुनी रूपमा मिलापत्र गराइएको, नेपाली विद्यार्थीहरूलाई जबरजस्ती हटाइएको, सुरक्षा गार्डहरूले शारीरिक बल प्रयोग गरेकोजस्ता घटनाहरू पनि प्रतिवेदनमा औंल्याइएको छ । तर, पछि १८ वैशाखमा कलेजमा फेरि अर्की नेपाली विद्यार्थी प्रिसा शाह मृत अवस्थामा भेटिएकी थिइन् ।

दुवै घटनाबारे विश्वविद्यालय अनुदान आयोग (यूसीजी) ले गठन गरेको समितिले ‘विश्वविद्यालयले यौन दुर्व्यवहारका उजुरीहरूमा कानुनी रूपमा कार्य नगरेको, छात्रावास सुविधा अपर्याप्त भएको, अनुमतिभन्दा बढी विद्यार्थी भर्ना गरेको र विद्यार्थीहरूमाथि बल प्रयोग गरेको जस्ता कुराहरू प्रमुख कमजोरी’ का रुपमा औंल्याएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार