एनसेलले ग्राहकहरुलाई नगद पुरस्कार दिने ‘सधैं अन करोडपति’ योजना बन्द गरे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ श्रावण २०८२

एनसेलले ग्राहकहरुलाई नगद पुरस्कार दिने ‘सधैं अन करोडपति’ योजना बन्द गरेको छ। आज (साउन १ गते) एक सार्वजनिक सूचना प्रकाशित गर्दै यो योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैबाट लागु हुने गरी बन्द गरेको कम्पनीले जनाएको छ।

‘ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरेको एनसेल ‘सधैं अन करोडपति’ योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति (२०८२ साउन १) बाट लागु हुने गरी बन्द गरिएको व्यहोरा जानकारी गराउँदछौं,’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ। असार १ गतेबाट सञ्चालनमा ल्याइएको यो योजनामा नगद पुरस्कार स्वरूप हरेक हप्ता १० जना ग्राहकले प्रतिव्यक्ति एक लाख रुपैयाँ पाउँदै आएका थिए। त्यस्तै, बम्पर पुरस्कारका रुपमा एक जनालाई एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो।

प्राधिकरणको निर्देशन बमोजिम योजना बन्द गरेपनि एनसेलले  हिजो (असार मसान्त) सम्म योजनामा सहभागी ग्राहकलाई भने आजै पुरस्कारका लागि ग्राहक घोषणा गर्ने बताएको छ। कम्पनीका अनुसार पुरस्कृत ग्राहकहरुको छनोट आज साँझ कान्तिपुर टिभी, एनसेल एप र एनसेलको यूट्युब च्यानलमार्फत गरिने छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार