विराटनगरमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ असोज ६ देखि हुने , स्टलका लागि बुकिङ खुला

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१२ भाद्र २०८२

ऐतिहासिक नगरी विराटनगरमा नजिकिँदै गरेको बडादशैँको अवसर पारेर पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव–२०८२’ आयोजना हुने भएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको छ ।

मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको लागि स्टलहरुको बुकिङ खुला गरिएको जनाएको छ । पाँचौं सँस्करणका रुपमा आयोजना हुन लागेको सडक महोत्सव विगतका वर्ष झै महेन्द्र चोक–ट्राफिक चोक सडकमा नै हुनेछ । यसका लागि हरेक दिन अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म उक्त सडकमा सवारी आवागमन निषेध हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारका साथै विभिन्न स्टार होटलमा पाईने खानाका परिकारहरु राखिएको हुनेछ । जहाँ सस्तो मूल्यमा अवलोकन कर्ताहरूले विभिन्न जातिका परिकारहरूको स्वाद लिन पाउने मन्जिना मुभिजका अध्यक्ष जतिन ताम्राकारले बताउनुभयो ।

आफ्ना संस्कृती र परम्परालाई जीवन्त राख्दै मनोरञ्जन समेत प्रदान गरिने महोत्सवमा विराटनगर तथा भारतका छिमेकी शहरहरूबाट समेत पाहुना आउने आयोजकको विश्वास छ । विगतका वर्षहरुमा दैनिक ९ हजार जना भन्दा बढीले अवलोकन गरेको अनुभवका आधारमा यस वर्ष अझै बढ्न सक्ने विश्वास ताम्राकारले ब्यक्त गर्नुभयो । करिब १२ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा प्रवेश शुल्क भने नलिने आयोजकले जनाएको छ । हरेक दिन स्थानीय कलाकारहरूका कलासहित सांस्कृतिक कार्यक्रम आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकार समेत ल्याउने तयारी भइरहेको सांस्कृतिक कार्यक्रमका संयोजक शुभम न्यौपानेले बताउनुभयो । यस्तै सडकमा महोत्सव लगाउँदा आसपासका व्यवसायीलाई असहज नहोस् भन्ने सजगता अपनाइएको अध्यक्ष ताम्राकारले बताउनुभयो ।

विगतका वर्षहरूमा जस्तै, यसपटकको सडक महोत्सवले पनि विराटनगरको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई झल्काउँदै सबैलाई एकै ठाउँमा ल्याउने एउटा उत्कृष्ट माध्यम बन्नेछ। असोज ६ गतेदेखि हिमालय रोडमा महोत्सवको रौनक छाउनेछ, जहाँ स्वादिष्ट खाना, मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिहरूको संगम हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार