धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो । >
रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो । राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् । जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएपछि भोलिपल्ट माइतपक्षले प्रहरीमा उजुरी दिएका थिए । त्यही दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको प्रहरी निरीक्षक साहले बताए । >
माइत पक्षले दिएको कर्तव्य ज्यानको जाहेरीको आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन् ।>>