लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गर्दा बागमती प्रदेशले लगातार दोस्रो फराकिलो हार व्यहोरेको छ । >
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हराएको हो । आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रनमै समेटिएको हो । बिबेक मगरले सर्वाधिक ५१ रन बनाउँदा अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन सकेन। इशान पाण्डेले १९ तथा आशुतोष घिरैयाले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाएनन् । आर्मीका शाहब आलमले ८ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । आकाश चन्दले ५ ओभरमा २८ रन दिएर ३ विकेट लिए । सोमपाल कामी, नरेन साउद र बसिर अहमदले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनायो । सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए । कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे । तृत राज दासले ३६ रन बनाए ।>
बागमतीका लागि इशान पाण्डेले ३.४ ओभरमा ११ रन दिएर २ विकेट लिए । रिजन ढकाल र प्रतिश जिसीले पनि समान २ विकेट लिँदा सोनु देवकोटाले १ विकेट लिए । यसअघि बागमती पहिलो खेलमा एपीएफसँग १०० रनले पराजित भएको थियो ।>>