थारु समुदायमा: माघी पर्वको आज अन्तिम दिन

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२ माघ २०८०

तराईका थारु समुदायले मनाउने माघी पर्वको आज अन्तिम दिन हो ।


तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व पुस महिनाको अन्तिम दिन आइतबारदेखि सुरु भएको हो ।  माघ १ गतेदेखि थारु सम्वत अर्थात् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । थारु समुदायमा माघी सबैभन्दा ठूलो पर्व भएकाले उनीहरुले माघीलाई धुमधामसंग मनाउने गरेका छन् । थारु समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा बिर्सेर मीठो खाने र नाचगान गर्दै रमाउने चलन रहेको छ । 

माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ । पुस महिनाको अन्तिम दिनको राति गाउँघरका अगुवा, भलमन्सा लगायतका घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, मौलिक धमार गीत गाउने गरिन्छ । त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन बिहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । 

माघीमा एक दिन पानी किनेर नुहाउनु पर्ने मान्यता छ । यस कारण नदी, पोखरी, तलाउमा नुहाउनेले आफू नुहाउनु अगाडि पैसा पानीमा छोड्ने गर्दछन् । नुहाइ सकेपछि घरका सबै व्यक्तिले चामल, नून, बेसार छुने र आफूभन्दा ठूलालाई सेवा ढोग गर्ने, सानालाई आशिर्वाद दिने चलन रहेको छ । थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै पुसको अन्तिम दिन हो । यसैगरी, यहि दिन नै आगामी दिनमा के, कसरी काम गर्ने भनेर त्यसको योजना पनि बनाउने गरिन्छ । 

माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिलाप बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले बताउनु भयो । उहाँले धनगढीमा बस्ने सबै जातजातीको कला संस्कृती संरक्षण गर्न उपमहानगरले काम गरेको बताउनुभयो ।

माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिन्छ । माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार गाउँको आर्थिक हरहिसाब परिवार गाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार