पहिले देखि अख्तियारको छानबिनमा रहेका विवादित वडाध्यक्ष कामत ः बैंकिङ कसुरमा पक्राउ

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
८ पौष २०८१

विराटनगर महानगरपालिका वडा नं १२ का विवादित वडाध्यक्ष हिरालाल कामतलाई मोरङ प्रहरीले सोमबार हिरासतमा लिएको छ। लामो समयदेखि आर्थिक लेनदेन र अनियमितताको आरोपमा मुछिँदै आएका कामत यसअघि पनि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि पक्राउ पर्न सकेका थिएनन्।

कामतलाई जहदा गाउँपालिका वडा नं ३ का गुरुदयानन्द ठाकुरले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जनाएका छन्। ठाकुरलाई ५ लाख रुपैयाँको चेक दिएर भुक्तानी नगरेपछि कात्तिकमा कामतविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो। यसै मुद्दामा अदालतले मंसिर २५ गते पक्राउ पुर्जी जारी गरेको थियो।

कामतले वडामा सञ्चालन गरेका बिभिन्न योजनामा अनियमितता गरेको आरोप पनि लागेको छ। ती योजनाहरू गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उजुरीको आधारमा अख्तियारले छानबिन गरिरहेको छ। कामत जसपाका तर्फबाट उम्मेदवार बनेर वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। तर, निर्वाचित भएयता उनी पटक-पटक आर्थिक विवाद र अनियमिततामा मुछिएका छन्। कामतजस्तो जनप्रतिनिधि नै अनियमितता, बैंकिङ कसुर, र अख्तियारको छानबिनमा फस्नुले स्थानीय प्रशासन र जनताको विश्वासमा गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरी प्रशासन र अख्तियारले यस्तो गतिविधिमा संलग्नलाई कडा कारबाही गर्ने जनाए पनि ठूला पदमा रहेका व्यक्तिहरूको मुद्दा अलमलिने परिपाटी यसपटक टुंगोमा पुग्नेमा आम जनताले आशा गरेका छन्। वडाध्यक्षको भूमिकामा रहेको व्यक्तिले आर्थिक अनियमितता र बैंकिङ कसुरमा मुछिनु अत्यन्तै चिन्ताजनक हो। अबका दिनमा कानुनको कठघरामा सबैलाई समान व्यवहार गरी दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यकता महसुस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार