बालकुमारी घटनामा यातायातमन्त्रीको लापरबाही देखियो : गगन थापा

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१६ पौष २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।

थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको थापाको भनाइ छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । 

चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेको क्षेत्रबाट भौतिक पूर्वाधारमन्त्री ज्वालाले यात्रा गरेका थिए । 

त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने प्रहरीकै कुटाइबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाइदिएका थिए । बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार