विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजुमाथि एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सोमबार दिउँसो आफ्नै देबरले २२ वर्षीया भाउजु माथि एसिड प्रहार गरेका हुन् । घाइते महिलाको हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।>
पीडितका श्रीमान्का अनुसार, उनका भाइले भाउजुसँग तीन हजार रुपैयाँ मागेका थिए । घाइते भाउजुले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । घटना हुनुभन्दा केही समयअघि पनि दाजुलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ । पिडित महिलाकी श्रीमान् आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमतीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरिन् । श्रीमान् हतारहतार घर पुग्दा भाइ पनि त्यहीँ थिए । ूमैले किन भाउजुमाथि हातपात गरेको भनेर सोध्दा भाइ जाइलाग्न खोज्यो,’ पिडित श्रीमान(दाइ)ले भने, ‘मैले सम्झाइबुझाइ गरेर उसलाई घरबाट बाहिर पठाएको थिएँ ।’>
>
तर, केही बेरमै भाइले एसिड लिएर घर फर्किए र सोझै भाउजुको अनुहारमा प्रहार गरे । एसिड प्रहारपछि उनी तत्कालै फरार भए । मोरङ प्रहरीकी प्रवक्ता, डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको र खोजी कार्य तिव्र बनाएको उनले बताइन् ।>>