भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। >
शुक्रबार बिहान ८ बजेतिर मध्यपुर ठिमी नगरपालिका-२ शिक्षा तथा मानवस्रोत भवन अगाडि ट्रकले ५ वर्षीय बालकलाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए। पानी बोकेको बा २ क १२८४ नम्बरको ट्रकले सिरहा घर भई सानोठिमी बस्दै आएका ५ वर्षीय अरब यादवलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका लागि कोरियन अस्पताल लगिएको थियो। >
त्यहाँ उपचारको क्रममा यादवको मृत्यु भएको एसपी गिरीले बताए। प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक घर भई सानोठिमी बस्ने २१ वर्षीय जयबहादुर गोलेलाई पक्राउ गरेको छ। >>